रौतहट, ४ साउन । संविधानको मस्यौदा बोकेर सुझाव संकलनका लागि आफ्नो निर्वाचन क्षेत्र रौतहट क्षेत्र नम्बर–१ पुगेका नेकपा एमालेका नेता माधवकुमार नेपालमाथि आक्रमण भएको छ । सोमबार रौतहट क्षेत्र नम्बर १ गौरस्थित नगरपालिकाको सभा हलमा मस्यौदामाथि सुझाव संकलन भइरहेका बेला सद्‍भावना पार्टीका कार्यकर्ताहरुले नेता नेपालमाथि आक्रमण गरेका हुन् । नेता नेपालमाथि कुर्सी प्रहार गरी आक्रमण गरिएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले बन्द कोठाभित्र, सुरक्षाकर्मी परिचालन गरेर, सीमित जनतामाझ मात्र छलफल गराएको भन्दै सद्‍भावनाका कार्यकर्ताहरुले नाराबाजीसहित कुर्सी प्रहार गरेका थिए । प्रहरीले सद्‍भावनाका रौतहट जिल्ला अध्यक्ष अनिल झालाई समेत सुझाव संकलन भवनमा प्रवेश रोक लगाएपछि उनका कार्यकर्ताहरुले नेपालमाथि कुर्सी प्रहार गरेका हुन् । कुर्सी प्रहारबाट सुझाव संकलनको कार्यक्रम प्रभावित भएको छ । गौर नगरपालिकाको सभाहलमा बाहिर भीड बढ्दै गएपछि नेकपा (एमाले)का वरिष्ठ नेता एवम् सभासद् माधवकुमार नेपाललगायत सभासद्हरु वंशिधर मिश्र, रामकुमार भट्टराई ,सत्यानारायण भगत, मोहम्मद मुस्ताक आलमलाई प्रहरीले सुरक्षा घेराभित्र राखेको छ ।  जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार नेता नेपालमाथि आक्रमण भएपछि उनी अहिले सुरक्षित छन् । उनलाई प्रहरी टोलीले घेरा हालेर आक्रमणबाट बचाएको थियो । सभा हलअगाडि सद्भावनाका कार्यकर्ताले निकै बेरसम्म चर्को नाराबाजी गरेका छन् । आक्रोशित सद्भावनाका कार्यकर्ताले यसअघि नेता नेपालको गाडिमा समेत तोडफोड गरेका थिए । यसैबीच नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामाथिको राय सुझाव सङ्कलन गर्ने कार्यमा हुनसक्ने सम्भावित घटनालाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार जिल्लाभर कायम रहेका संविधानको मस्यौदामाथि छलफल र राय सुझाव सङ्कलन गर्ने स्थलमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ ।



Post a Comment

 
Top