काठमाडौं, २३ असार कांग्रेस जिल्ला सभापतिहरूले स्थानीय तहको अधिवेशनको मिति सार्न मंगलबार लिखित प्रस्ताव गरेका छन् । उनीहरूले भूकम्पको असर र बाढीपहिरोका कारण अधिवेशन गर्न नसकिने भन्दै सार्न सभापति सुशील कोइरालालाई लिखित आग्रह गरेका हुन् । कांग्रेसले गाउँ–नगरको अधिवेशन १४ साउनमा, क्षेत्रीय अधिवेशन २२ साउनमा र ७५ वटै जिल्लाको अधिवेशन २६ साउनमा गर्ने कार्यतालिका बनाएको छ । २४ देखि २८ असोजसम्मका लागि १३औँ महाधिवेशन तोकिएको छ । महाविधेशन निर्धारित समयमै गर्ने, तर जिल्ला अधिवेशन १५ भदौभित्र गर्ने गरी गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशन सार्न प्रस्ताव गरिएको धादिङ कांग्रेसका सभापति रामनाथ अधिकारीले जानकारी दिए । केही दिनअघि भएको जिल्ला सभापतिहरूको दुईदिने भेलाको निर्णयअनुसार उनीहरूले सभापति कोइरालालाई लिखित प्रस्ताव गरेका हुन् । विधानमा केन्द्रीय सभापतिदेखि सबै सदस्य गाउँतहबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्था गर्न पनि उनीहरूले माग गरेका छन् । लिखित प्रस्तावमा यसअघि काभ्रे र सिन्धुपाल्चोकमा भएका जिल्ला सभापतिको भेलाले गरेको निर्णय पालना गरियोस् भन्ने सुझाबसमेत छ । दुवै भेलाले जिल्ला सभापतिको दुईपटकको कार्यकालको प्रावधान हटाउनुपर्ने माग गरेको थियो । जिल्ला सभापतिहरूले संविधानको प्रस्तावमा संसदीय शासन पद्धति र बहुलवाद राख्न पहल गर्न माग गरेका छन् । त्यस्तै, भूकम्प र बाढीपडितका विषयमा नीतिगत सम्बोधन गर्दै पूर्ण क्षति भएकालाई ५ लाख, आंशिक क्षतिलाई तीन लाख र सामान्य क्षतिलाई एक लाख रूपैयाँ दिनसमेत माग गरिएको धादिङ कांग्रेसका सभापति अधिकारीले जानकारी दिए । सभापतिहरूको लिखित प्रस्ताव बुझ्दै सभापति कोइरालाले केन्द्रीय समितिको बैठकमा छलफल गर्ने बताए । पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको भेलाले धादिङ कांग्रेसका सभापति रामनाथ अधिकारीको संयोजकत्वमा ११ सदस्यीय समिति बनाएको थियो । सोही समितिले कोइरालालाई निर्णयको लिखित जानकारी गराएको हो । -
साभार : नयाँ पत्रिका

Post a Comment

 
Top