सल्यान, असार २८ – शिक्षक सेवा आयोगका अध्यक्ष उदयराज सोतीले शिक्षक सेवा आयोगको परीक्षालाई  लोक सेवा आयोगको जस्तै बनाउने तयारी भैरहेको बताउनुभएको छ ।
सोमबार सल्यानमा भएको कार्यक्रममा अध्यक्ष सोतीले शिक्षकको क्षमतालाई वैज्ञानिक, व्यवहारिक र समयसापेक्ष बनाउनका लागी शिक्षक सेवा आयोगको पाठ्यक्रममा हेरफेरको तयारी भएको बताउनुभयो । तीनघण्टे परिक्षाले मात्रै योग्य शिक्षक उत्पादन गर्न नसक्ने उहाँले बताउनुभयो ।
लोकसेवा आयोग, त्रिभुवन विश्वविद्यालय र उच्च माध्यमिक शिक्षा परिषदसँग समन्वय गरेर शिक्षकको परीक्षाको आधार बनाउन लागिएको सोतीले जानकारी दिनुभयो । शिक्षण विधि, विषयवस्तु, प्रयोगात्मक, अन्तर्वार्ता तथा समसामयीक कुराहरुलाई ध्यानमा दिएर परीक्षाको पाठ्यक्रम बनाउने उहाँले जानकारी दिनुभयो ।
शिक्षा क्षेत्रमा व्यापक अनिश्चितता र दबाब भएकाले वार्षिक क्यालेण्डर बनाएर काम गर्न नसकेको उहाँले दाबी गर्नुभयो । शिक्षक सेवा आयोगको परीक्षामा राजनीतिक दबाब आएको दाबी गर्दै अध्यक्ष सोतीले मन्त्रीहरुले समेत खाममा नामलिष्ट पठाउने गरेको बताउनुभयो ।

Post a Comment

 
Top