काठमाडौं, असार २८ – पानी बिना माछा बाँच्न सक्दैन भन्ने सबैलाई थाहा छ । तर काठमाडौंको मच्छेनारायणमा भने पानी नभएपनि माछाको अस्तित्व र सम्झना कायमै छ । माछाको अवतार लिएका भगवानको दर्शन गर्न अहिले मच्छेनारायणमा दिनहुँ भक्तजनको घुईंचो लागिरहेको छ । मन्दिरमा माछा बनेका देउताको मूर्ति भएपनि नजिकै माछा बस्ने ठाउँमा भने पानीको थोपै छैन । ‘पहिले यहाँ खलललल पानी आउँथ्यो, यही पानीले तलतिर फाँटमा रोपाईं हुन्थ्यो, अहिले त पानीको थोपै छैन’ स्थानीय वृद्ध मणिराम आचार्यले भन्नुभयो । मन्दिर वरपर रहेका १४ वटा धाराबाट अहिले एकथोपा पनि पानी झर्दैन । नुहाउन आउने दर्शनार्थीको लागि नजिकै धारामा पानीको व्यवस्था गरिएको छ । मन्दिर वरपरको धारा र पोखरीमा स्नान गर्ने उदेश्यका साथ आउने भक्तजन अलि परको धाराबाट खसेको पानी शरीरमा छर्केर चित्त बुझाउँछन् । मच्छेगाउँमा रहेको मच्छेनारायण मन्दिरमा हरेक तीन वर्षमा यसैगरी भक्तजनको घुईंचो लाग्छ । हरेक मलमासमा लाग्ने मेलाको लागि देशका बिभिन्न ठाउँबाट दर्शनार्थी आउने गर्छन् । पौराणिक कथनअनुसार भगवान विष्णुले मच्छेगाउँमा दश अवतारमध्ये पहिलो मत्स्य अवतार ग्रहण गरेको मान्यता छ । त्यहाँ पौराणिक राजा सत्यव्रतले कुवा खनाएको र पछि भगवान विष्णुमले त्यही कुवामा मत्स्य अवतार धारण गरेको पुराणहरुमा उल्लेख छ । गोपालवंशको पालामा मात्रै कुवाको अस्तित्व सार्वजनिक भएको र लिच्छवीकालमा मन्दिर बनेको विश्वास गरिन्छ ।
साभार : उज्यालो अनलाईन

Post a Comment

 
Top