असार २८ – क्यारबियन प्रिमियर लिग क्रिकेटमा क्रिस गेलको टिम पराजित भएको छ । गुयाना अमेजन वारियरले गेलको टिम जमैका तालवसमाथि ९५ रनको जित दर्ता गरेको हो ।
सोमबार बिहान भएको खेलमा अमेजन वारियरले प्रस्तुत गरेको १ सय ८० रनको लक्ष्य पछ्याएको तालवस १५ दशमलव ५ ओभरमा अलआउट हुँदै ९५ रनमा समेटियो । तालवसका आन्द्रे रसेलले २८, नरसिंह डिओनरिनले १८ तथा क्रिस लेनले १६ रन बनाए । सोमबारको खेलमा कीर्तिमानी ब्यट्सम्यान क्रिस गेलको ब्याट पनि चलेन । गेलले ९ बलमा एक चौका र एक छक्काको मद्दतमा ११ रन जोड्दा आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । तीन जनाले त रनको खाता नै खोल्न सकेनन् ।
यसअघि पहिले ब्याटिङ गरेको अमेजन वारियरले निर्धारित २० ओभरमा मात्रै तीन विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । वारियरका ब्राड हजले नटआउट ६५, असद फुडाडिनले ५४ तथा लेन्डल सिमन्सले ३६ रनको योगदान दिए ।
वारियरसँग पराजित भएको तालवस अंक तालिकामा भने तेस्रो स्थानमा छ । तालवसको ८ खेलबाट ८ अंक छ भने दुई खेल कम खेलेको वारियर ६ अंक सहित पाँचौ स्थानमा छ । अंक तालिकाको शीर्ष स्थानमा रहेको बारबेडस ट्राइडेन्सको ८ खेलबाट १० अंक छ ।
साभार : उज्यालो अनलाईन

Post a Comment

 
Top